
काठमाडौं । नेपाल राष्ट्र बैंकमा क्रियाशिल तीनवटा कर्मचारी युनियन नेपाल राष्ट्र बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले जेठ १६ र १७ गते विराटनगरको शहिद रंगशालास्थित कभर्ड हलमा संयुक्त रुपमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैंकले जितेको छ ।
बेष्ट अफ थ्रीको आधारमा खेलाइएको खेलमा प्राइम कमर्सियल बैंक लिमिटेडका सोनाम लामा र भेष राज भुजेलको जोडीलाई २१–१८ र २४–२२ को सोझो सेटमा पराजित गर्दै नेपाल राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजन कुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक तृतीय स्थान हासिल गर्न सफल भए ।
एभरेष्ट बैंक लिमिटेको मुख्य प्रायोजन, नविल बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको प्रायोजन तथा प्रभु बैंकको सह– प्रायोजनमा सम्पन्न प्रतियोगितामा २१ वटा बैंक तथा वित्तीय संस्थाका कुल ३१ टीमको सहभागिता रहेको थियो । प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमश ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।
विजयी टीम तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मी, एभरेष्ट बैंक लिमिटेड विराटनगर शाखाका प्रमुख विनय घिमिरे तथा रेफ्री लव भक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।