
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
सर्वोच्च अदालतको मंगलबारको दैनिक पेसी सूचीमा पहिलो नम्बरमा कुलमान घिसिङको र दोस्रो नम्बरमा हितेन्द्रदेव शाक्यको निवेदन परेको छ ।
यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासले दुवै मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको थियो ।
निर्वतमानप्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले गैरकानुनी रूपमा हटाएको दाबी गर्दै गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
त्यस्तै, नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर पुनः कुलमानलाई नियुक्त गरेको विषय टुंग्याइदिन आग्रह गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
गत शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदा अन्तरिम आदेश जारी नगरी दुबै पक्षलाई आइतबार उपस्थित हुन आदेश दिइएको थियो ।
सरकारले अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई पुनः प्राधिकरणको नेतृत्व दिने निर्णय गरेको थियो । अब सर्वोच्चको नयाँ आदेशले विद्युत प्राधिकरणको नेतृत्वबारे स्पष्ट दिशा तय गर्ने अनुमान गरिएको छ ।