News Portal

  • एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०८१
    ७ पटक
    २९ चैत्र, २०८१

    काठमाडौं । एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    चैत २८ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्सकोे तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँ अंकित दरको १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

    अधिकृत पुँजी रु.१ अर्ब र जारी पुँजी रु.७५ करोड रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धरामा रहेको छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ । विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुद्वारा प्रवद्र्धित यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१/०७२ मा प्रा.लि.को रुपमा स्थापना भई आर्थिक वर्ष २०८०/०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो ।

    विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका औषधिहरु बजारमा छन । कम्पनीले विशेष रुपमा उच्च रक्तचाप/मधुमेहमा प्रयोग हुने, एन्टिबायोटिक्स लगायतका गुणस्तरीय औषधिहरुको उत्पादन गर्दछ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरुको पनि उत्पादन शुरु गरेको छ ।

    कम्पनीबाट उत्पादित औषधिले नेपालको बजारमा उल्लेख्य हिस्सा ओगट्न सफल भएको छ भने निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार WHO GMP प्रमाणपत्र हासिल गरेको छ । फर्मास्यूटिकल्स कम्पनीहरुमध्ये प्रतिष्ठित कम्पनीको रुपमा स्थापित यस कम्पनीले शेयरको सार्वजनिक निष्कासन पश्चात् उद्योगको क्षमता अभिवृद्धि गरि बजारको माग बमोजिम थप औषधिहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्