
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने सम्झौता गरेको छ ।
यो सहकार्यबाट जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । साथै, देशको ऊर्जा क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
वण्डबाट उठाइएको रकम सौर्य ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि यो पहल एक ‘पारिवर्तनकारी फड्को’ हुने विश्वास व्यक्त गरे । साथै, विदेशी पूँजी भित्र्याई जलवायु क्षेत्रमा लगानी बढाउँदा पर्यावरणीय प्रभाव न्यूनीकरणमा समेत सहयोग पुग्ने उल्लेख गरे ।