
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले हाइड्रोपावर कम्पनीको पुनर्बीमा गर्न नमान्दा समस्या आएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र बीमक संघबीच भएको जलविद्युत आयोजनाको प्रिमियबारे छलफलमा अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् ।
ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि नउठ्ने उनको भनाइ छ ।
‘पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको हो, ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना मेरो पनि छ तर, अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि उठ्दैन,’ उनले भने ।
इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर, कति नाफा राख्ने भन्ने कुरामा स्पष्ट हुनु पर्ने बताए । उनका अनुसार बीमा कम्पनीले एकातिर प्रिमियम बढाउने अर्को तिर जोखिम क्षेत्र घटाउँदै जाने हो भने स्वीकार गर्न सकिँदैन ।
कार्कीले भने, ‘हामी बढी प्रिमियम तिर्न पनि तयार छौं तर, भनेको बेला दाबी भुक्तानी पाउने, धेरै भन्दा धेरै कुराको जोखिम बहन गर्ने पोलीसी ल्याउनुस ।’
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले पुरानै प्रिमियमलाई प्रवद्र्धकले अस्विकार गरेको बेला नयाँ प्रिमियम दरलाई प्रवद्र्धकले कुनै पनि हालतमा नस्वीकार्ने बताए ।
इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारेपनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बीमा कम्पनीले लिए जस्तै जलविद्युतमा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताएका थिए । उनले अहिले बीमाको प्रिमियम बढाउन खोजेपनि दाबी परेपछि भुक्तानी पाउने न्युनतम वा अधिकतम समय स्पष्ट हुनु पर्ने बताए ।
यसअघि प्रतिहजारको २ रुपैयाँ मात्र रहेको जलविद्युत बीमाको प्रिमियम दर अहिले ७.५ रुपैयाँसम्म पुर्याउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । एकैपटक २ रुपैयाँबाट साढे ७ रुपैयाँ प्रिमियम र्पुयाउँदा जलविद्युत प्रवद्र्धकलाई पनि मर्का पर्ने उनको भनाइ छ । उनका अनुसार हाललाई साढे ५ रुपैयाँसम्म कायम गरेर जान सकिन्छ ।
प्रिमियमको विश्वव्यापी ट्रेण्ड विश्लेषण गरेर दर तोक्न एक समिति बनाएर अघि बढ्नु पर्ने उनको धारणा छ । हाललाई प्रति हजारको २ रुपैयाँ प्रिमियम लिने गरी बीमा पोलीसी किन्न इप्पानसँग उनले आग्रह गरे । प्रवद्र्धकहरुले भने समितिले दिएको प्रतिवेदन अनुसार बढेपनि घटेपनि प्रिमियम तिर्न तयार हुनु पर्ने शर्त राखे ।
प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इप्पानसँग छलफल गर्न बुधवार इप्पान सचिवालयमा पुगेका हुन् । बीमक संघसँग भएको छलफलमा बीमाको वैज्ञानिक प्रिमियम दर कायम गर्न दुवै पक्षबाट ३/३ जना र २ जना विज्ञ सदस्यसहितको समिति बनाउने सहमति भएको छ । उक्त समितिले सिफारिस गरेको प्रिमियम अहिलेको भन्दा घटि वा बढी भएपनि संघ र इप्पान दुवैले स्वीकार गर्ने बताएका छन् ।