
काठमाडौं । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।
जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ ।
मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् ।
हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब १९ करोड (बोनसपछि) रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।
तेश्रो त्रैमासको रिपोर्ट अनुसार प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ ।
प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।