
काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल : सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डवमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उनले यसको दिर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारिन् ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘हाम्रो मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतिको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो, विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमता समेत हामी राख्दछौं, विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो ।’
उनले अझै पनि ठूलो संख्याले बिजुली बाल्न नपाएका बताउँदै उद्योगहरुले पनि माग अनुसार विजुली प्राप्त गर्न नसकेको बताइन् ।
राष्ट्रपति भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गरिन् । राष्ट्रपति भण्डारीले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहोर्याइन् ।