News Portal

  • एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७८
    १५३७ पटक
    ३० वैशाख, २०७८

    काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
    प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
    वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसमा उपेन्द्र पक्षले बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा नदिएपश्चात कांग्रेस–माओवादी–जसपा (उपेन्द्र पक्ष) गठबन्धनले सरकारका लागि समयसीमा भित्र दाबी नै गरेन । त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए संविधानको धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुने बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्