News Portal

  • हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७८
    ४६६ पटक
    ३० वैशाख, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न÷गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैशाख ३० गते नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका हुन् ।
    मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुनेछ । त्यस्तै, सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।
    त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
    हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।
    त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्टको १६० अर्ब ९८ करोड रुपैयाँ र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८ अर्ब २९ करोड रुपैयाँ र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपैयाँ रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
    दुबै वाणिज्य बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने छन् । साथै, यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिएको छ ।
    दुबै बैंकहरु एकआपसमा गाभिएपश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने छ । त्यस्तै, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंका अध्यक्षले जानकारी गराएका छन् ।
    यस्तै, सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए)मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ हुने बताइएको छ भने दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर्ने सहमति भएको छ ।

    प्रतिकृया दिनुहोस्