News Portal

  • थापा, देवकोटा र तामाङ तीन जनाको राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता

    आर्थीकसंसार संवाददाता२४ वैशाख, २०७८
    १४१० पटक
    २४ वैशाख, २०७८

    काठडमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् । गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा आइपुगेका हुन् ।
    सो पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलका समर्थनमा डा. खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाले जनाएको छ । देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो ।
    सङ्घीयताविद् डा.देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।
    वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार आगामी जेठ ६ गते हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्काे प्रदेशसभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।
    निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिका अनुसार शुक्रबार सो पदमा तीनजनाको उम्मेदवारी परेको छ । तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्ताव र सांसद सिर्जना सैंजुको समर्थनमा कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र गत चैतमा परित्याग गरेपछि उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो । यो उप निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी ५ वटा दलले आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारी भने तीनजनाको मात्र परेको छ ।

    प्रतिकृया दिनुहोस्