News Portal

  • सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर

    नेपाल शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०७७
    २७११ पटक
    २१ फागुन, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीचको तीनबुँदे सहमतिमा भएको हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै प्रम ओलीले नेपालमा हिंसात्मक द्वन्द्वको बाटो त्यागेर शान्तिपूर्ण बाटोमा प्रवेश गरेको बताएका हुन् ।
    प्रम केपी शर्मा ओलीले सो कार्यक्रममा बोल्दै, ‘अब कुनै पनि राजनीतिक पार्टीले हिंसात्मक बाटो र कार्यदिशालाई अगाडि बढाइरहेका छैनन् यसले के संकेत गर्छ भने नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’
    प्रम ओलीले सोही समारोहमा भनेका छन् महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको तीनबुँदे सहमति लामो प्रयासको परिणाम भएको र लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा सुरक्षित अवरण हो ।’ शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’ एउटा कार्यदिशा बाटो बाटो समातेर हिँडिरहेको अवस्थामा कार्यकर्तालाई मोड्न कठिन हुने भन्दै कतिपय नेतृत्वले त्यस्तो कदम चाल्दा असफल हुने भन्दै ओलीले विप्लव भने सफल भएको जिकिर गरे ।


    सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शहीदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गरे । विप्लवले भने, ‘शहीद परिवारलाई विश्वास म दिलाउँछु कि हामी हाम्रो जीवनलाई बलिदान दिन तयार छौं तर शहीदको सपनालाई कुनै हालतमा मर्न द्ँिदैनौं । विप्लवले हामी कम्युनिस्ट विद्रोहका योद्धा हुनुका साथै शान्तिका दूत पनि भएको बताए । महासचिव विप्लवले जुन दिन कम्युनिस्ट आन्दोलन सफल हुन्छ, त्यसदिन विश्वबाट हातहतियारका साथै युद्ध पनि सदाका लागि अन्त्य हुने बताए ।
    विप्लवले सरकारसँगको आफूहरुको सहमतिको पछाडि एउटा पार्टी, एउटठा नेताको मात्र नभएर देशलाई आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी बनाउने, स्थिरता कायम राख्ने, नेपाली जनताको समृद्धिको आकांक्षा, युवाका सपनाहरु लगायतका कुराहरु रहेको बताए ।
    सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    के छ सहमति पत्रमा ?
    १. दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वर्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
    २. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
    ३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
    हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस्थित छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।
    हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको बताए । हस्ताक्षर समारोह आयोजित राष्ट्रिय सभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी सञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीको खचाखच रहेको थियो ।

    प्रतिकृया दिनुहोस्