News Portal

  • एसएमईजलाई सहज कर्जा उपलब्ध गराउन एफएनसीसीआई र एनबीएबीच समझदारी

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
    ४६४ पटक
    १३ फागुन, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ ।
    समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवनकुमार दाहालले महासंघको सचिवालयमा हस्ताक्षर गरे ।
    दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई कम गर्ने अपेक्षा गरिएको छ । संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना हुने दुवै संस्थाको विश्वास छ ।
    उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने समझदारीपत्रमा उल्लेख छ । सो कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको लागि आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ ।
    समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ, एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ,’ अध्यक्ष गोल्छाले भने ।
    महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महसुस भएको बताए ।
    ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं, हामीबीचको सहकार्य निरन्तर अगाडि बढ्नेछ, हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौं,’ अध्यक्ष दाहालले भने ।
    अहिले मुलुकभित्र ७ सय ४९ वटा स्थानीय तहसम्म बैकिङ पहुँच विस्तार भइसकेको भन्दै उनले महासंघको यो सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने अपेक्षा गरे ।
    महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महसुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको पाइएकाले एसएमईजहरुलाई नै केन्द्रीत गरी भएको यो समझदारीले अव त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गरे । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने शर्माको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्