News Portal

  • राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का

    आर्थीकसंसार संवाददाता
    ५८७ पटक

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ करोड रूपैयाँ भन्दा बढीको सम्पत्ति भोगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नुपर्ने कानुनी प्रकृया पुरा नभएको भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से( ले सो कम्पनीको कारोबार बन्द गरिदिएको छ ।
    वार्षिक वित्तीय विवरण लेखा परीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको हो । गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन नबुझाएसम्म सेयर कारोबार बन्द गरिने नेप्सेले जनाएको छ । तर राष्ट्रिय बीमा कम्पनी तत्काल लेखा परीक्षण प्रतिवेदन बुझाउन सक्ने अवस्थामा छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्मको मात्र लेखापरीक्षण भएको छ । तर आर्थिक वर्ष २०७३/७४ देखि यता अर्थात आर्थिक वर्ष २०७६/७७ सम्म ४ आर्थिक वर्षको आर्थिक प्रतिवेदन लेखापरीक्षण भएको छैन । ‘आर्थिक वर्ष २०७५/७६ सम्मको लेखापरीक्षणको धेरै काम सकिएको छ । आर्थिक वर्ष २०७६/७७ को पनि लेखापरीक्षण सक्दैछौं । केही प्राविधिक विषय मिलाउन बाँकी छ । २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । कम्पनीको सेयर कारोबार तत्काल फुकुवा गरिदिन नेप्सेलाई अनुरोध गरिएको उनले बताए ।
    ‘पहिला नै गर्नुपर्ने काम बाँकी रहँदै आएको छ । कम्पनीमा नयाँ समस्या आएको होइन । पहिला समस्या हुँदाहुँदै पनि सेयर कारोबार खुला नै थियो । अहिले समस्या समाधानको प्रयास भैरहेको बेलामा कारोबार बन्द गरेर कसैको पनि हित हुँदैन’ अर्यालले भने ‘कारोबार बन्द गर्नुको नियत के हो ? भन्ने पश्न उब्जिएको छ ।’
    ‘सेयरको मूल्य बढिरहेको छ । यो बेलामा लगानीकर्ताले सेयर बेच्न खोज्छन् । उनीहरुलाई समस्या हुनेगरी कारोबार बन्द गर्नु हुँदैन थियो’ उनले भने । सेयर कारोबार बन्द गर्दा कम्पनीको व्यवसायिक गतिविधिमा कुनै असर नगर्ने तर लगानीकर्तालाई समस्या हुने उनले बताए । उता नेप्सेले भने कम्पनीको सम्पूर्ण विवरण आएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । ‘हालसम्म कम्पनीको पुरै विवरण आइसकेको छैन । त्यसैले सम्पूर्ण विवरण आएपछि मात्र कम्पनीको सेयर कारोबार खुल्ने छ’, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने ।
    कम्पनीले तत्काल कारोबार फुकुवा गरिदिन अनुरोध गरिरहेको आधारमा खुल्छ कि खुल्दैन भन्ने जिज्ञासामा सीईओ साउदले भने( ‘राष्ट्रिय बीमा कम्पनीले मात्रै होइन कुनै पनि कम्पनीले अनुरोध गरेको भरमा रोक्का गरिएको सेयर कारोबार फुकुवा हुँदैन । कारोबार फुकुवा गर्नको लागि कम्पनीले सम्पूर्ण विवरण पेश गर्नैपर्छ । हामीले विवरण मागेका हौं । हामी ऐन नियम अनुसार जान्छौं । त्यसैले अनुरोध गर्दैमा कारोबार खुल्दैन ।’
    कम्पनीले लेखापरिक्षणको काम गर्न पहल गरेको भएपनि त्यसको परिणाम भने देखिएको छैन । कम्पनीले दिएको जानकारीअनुसार कम्पनीले २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । यससँगै सो अवधिमा सबै काम सकेर नेप्सेमा सम्पूर्ण विवरण बुझाएमा कम्पनीको सेयर कारोबार २ महिना पछि मात्रै खुल्ने देखिन्छ ।
    पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १०० करोड हुनुपर्ने मापदण्ड बीमा कम्पनीहरुको नियामक बीमा समितिले तोकेर २०७५ असार मसान्तसम्म न्युनतम पुँजी कायम गर्न निर्देशन दिएको थियो । निजी लगानीको कम्पनीहरुले मापदण्डअनुसार पुँजी वृद्धि गरिसकेको छन् तर सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको पुँजी भने अझै न्युनतमको पनि एक चौथाई मात्र रहेको छ ।
    लेखापरीक्षण नगरेको र वार्षिक साधारणासभा नगरको भन्दै बीमा समितिले पनि राष्ट्रिय बीमा कम्पनीको लाइसेन्स नविकरणा गरेको छैन । समितिले कम्पनीमाथि कानुनको परिपालनामा जोड दिदै विभिन्न किसिमको दवाव दिदै आएको छ ।

    प्रतिकृया दिनुहोस्