News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १४ अर्बको आवेदन

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    १७९१ पटक
    ५ माघ, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जारी गरिरहेको प्राथमिक सेयर (आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँको आवेदन परेको छ । आज (माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ करोड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो ।
    क्यापिटलका अनुसार सो अवधिसम्म ११ लाख ६३ हजार ८० जना आवेदकले १३ करोड ९९ लाख ७२ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा १.८४ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेको हो ।
    बैंकले माघ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिरहेको छ । जसमध्ये ०.२ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।
    सो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले माघ ६ गते अर्थात भोलि मंगलबार बैंकिङ्ग समय भित्रमा आवेदन दिन पाउने छन् ।
    नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।
    सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

    प्रतिकृया दिनुहोस्