News Portal

  • ग्लोबल बैंकले कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    ८२३ पटक
    २३ पौष, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।
    समझदारीपत्र अनुसार बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
    यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पुँजी अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जीवनस्तर उकास्न उल्लेख्य योगदान पुर्याउने छ । यससँगै बैंकले बैंकिङ्ग साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्नेछ ।
    मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु्र्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखासहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
    साथै, हेफर इन्टरनेशनलले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार भन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ ।
    यस समझदारी सँगै दुवै संस्थाले कृषि उद्यममा संलग्न ग्रामिण भेगका किसानलाई वित्तीय पहुँच सुधार गर्नका लागि संयुक्त प्रयास गर्ने छन् र त्यस्ता किसानहरुको व्यवसाय बिस्तार गर्न सक्षम बनाउने छन् ।

    प्रतिकृया दिनुहोस्