News Portal

  • संसद पुनर्स्थापना हुनै सक्दैन, प्रचण्ड–माधवलाई चुनावको तयारी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    १२८८ पटक
    १५ पौष, २०७७

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संसद पुनर्स्थापना नहुने बताएका हुन् ।
    संविधाननः संसदको पुनर्स्थापना गर्न नमिल्ने उनको भनाइ छ । आफु संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकाले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए ।
    प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफुले मित्रताले अँगालो हाले पनि प्रचण्डले धृतराष्ट्रले जसरी अँगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रचण्डको ध्यान कसरी पार्टी कब्जा गर्ने र नेतृत्व हत्याउने भन्ने मात्रै रहेको उनले बताए । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उनको भनाई छ ।
    प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने बताउँदै निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरेका छन् । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाइ छ । ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपतिलगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको बताए । उनले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गरे ।
    प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको बताए । सडक पूर्वाधारमा धेरै विकास गरेको र आगामी दिनमा पूर्वपश्चिम रेलमार्ग, उत्तरदक्षिण रेलमार्ग बन्ने बताए । कोभिड–१९ को संक्रमण दर तथा मृत्युदरमा कमी गराएको तथा भूकम्पपछिको पुनर्निर्माणको काममा सफलता पाएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्