News Portal

  • ‘संसद विघटन हुन सक्दैन’: सभामुख सापकोटा

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    १५२५ पटक
    ८ पौष, २०७७

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसद विघटन हुन नसक्ने बताएका छन् । सभामुख सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका हुन् । बुधबार सापकोटाले एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताएका छन् ।
    यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरेका छन् । ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ’ उनले भनेका छन् । तर संसद अधिवेशन सुरु गर्ने गृहकार्य भइरहेका बेला अवरोध सिर्जना भएको भन्दै आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् । सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच फेरि एकपटक उच्चस्तरीय समझदारीको आवश्यकता देखिएको बताएका छन् ।
    ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ । साथै, संवैधानिक सर्वाेच्चताका लागि माननीय सदस्यहरु, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’

    प्रतिकृया दिनुहोस्