News Portal

  • विज्ञापन बोर्ड सदस्यमा पाँच सञ्चारकर्मी नियुक्त

    आर्थिकसंसार संवाददाता१५ मंसिर, २०७७
    २६३५ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । सञ्चार क्षेत्रमा प्रभावशाली भूमिकासहितको विज्ञापन बोर्ड सदस्यमा सोमबार ५ सञ्चारकर्मी नियुक्त भएका छन् । सञ्चारकर्मीहरु महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डका सदस्यमा नियुक्त भएका छन् ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारकर्मीहरु राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन, नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेल, वरिष्ठ सञ्चारकर्मी तथा मूलप्रवाह मासिकका प्रकाशक÷सम्पादक बलराम थापा, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रशारक संघ (एको¥याव)का बन्दना दनुवारलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोर्डका सदस्यमा नियुक्त गरेको हो । सरकारले गरेको यो नियुक्तका साथै विज्ञापन बोर्डलाई पूर्णता मिलेको छ ।
    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार सञ्चारमन्त्रालयमा एक कार्यक्रम आयोजित गरी नवनियुक्त सदस्यहरुलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको सरकारको पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । बोर्डको अध्यक्षमा सञ्चार मन्त्रालयका सह–सचिव डिल्लीराम शर्मालाई सरकारले यसअघि नै नियुक्ति तोकेको थियो ।
    यसैबीच सञ्चारमन्त्री तथा सञ्चारसचिवको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक सोमवार सञ्चारमन्त्रालयमा बसेको थियो । बैठकले यही मंसिर २२ गते बसेर विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेशअनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताउनुभयो । विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत् स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निर्माण गर्ने र नियमन गर्ने दायित्व दिएको छ ।

    प्रतिकृया दिनुहोस्