News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई अनुदान दियो

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १४२० पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा तीनवटा कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालि, हुलास स्टील इन्डष्ट्रिज प्रालि र प्रिमियर स्टिल प्रालिलाई उक्त अनुदान दिएको हो ।
    बैंकले प्रिमियर अर्गानिक्सलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ३३ लाख १५ हजार छ सय रुपैयाँ, प्रिमियर स्टिललाई १७ लाख आठ हजार चार सय छपन्न रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।
    नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनको लागि ‘प्रोजेक्ट एक्सिक्युटिङग एजेन्सी (पीईए)’ को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ । यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ । यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
    सोही समारोहमा बैंकका उपकार्यकरी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका निर्देशकहरु क्रमशः गौरव शारदा, हितेश गोल्छा, अभिजित सिंहलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्