News Portal

  • अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतबीच भेटघाट

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    १२८३ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थमन्त्रालयमा भेटघाट भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरे ।
    अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोस्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिए ।
    राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गरे । देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औंल्याए ।
    साथै प्रधानमन्त्रीले सारेको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरे ।
    उनले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुसी व्यक्त गरे ।
    कोभिड–१९ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उक्त शिष्टाचार भेटघाटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच १ अर्ब २६ करोड नेपाली रुपैयाँको प्राविधिक सहायता परिचालन गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा अर्थमन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरे ।

    प्रतिकृया दिनुहोस्