News Portal

  • पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव छैनः कृषि मन्त्री घनश्याम भुसाल

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १२४५ पटक
    ३० असोज, २०७७

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।
    उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव आए पनि नसक्ने टिप्पणी गरेका छन् । कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन् । कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिकटन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’
    मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताएका छन् । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए । कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए ।
    कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे । किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाई छ । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरे ।

    प्रतिकृया दिनुहोस्