News Portal

  • डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस

    आर्थिकसंसार संवाददाता१५ असोज, २०७७
    १३०२ पटक
    १५ असोज, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेका छन् । बिहीबार मात्रै सरकारले तत्कालिन अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
    प्रधानमन्त्री केपी ओलीले भदौ ३० गते डा. खतिवडालाई मन्त्रिसरहको सुविधा पाउने गरी आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । त्यसलगत्तै १५ दिन पनि बित्न नपाउँदै बिहीबार डा. खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय प्रधानमन्त्री ओलीले गरेका छन् । यो खतिवडाले आठौंपटक पाएको राजनीतिक नियुक्ति हो । यस्तो सौभाग्य नेपाली राजनीतिमा सायद कमैले पाउने गरेको छ ।
    स्मरणरहोस् राष्ट्रियसभा सदस्यको पदावधि सकिएको ६ महिनाभन्दा बढी अर्थमन्त्री बन्न नपाउने भएकाले भदौ १९ गते खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिए थिए ।
    डा. खतिवडा अमेरिकाका लागि राजदूत हुने भएपछि उनी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहने छैनन् । अमेरिकामा लामो समय राजदूत पद रिक्त रहँदै आएको छ । सरकारले पदावधि सकिएका अर्जुन कार्कीको म्याद थपेर कामचलाउ राजदूत बनाएको थियो । प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अमेरिकाको लागि राजदूत सिफारिस भएपछि आगामी दिनमा एमसीसीलगायतका अमेरिकी सहयोगहरुको पहल सहज हुनसक्ने अड्कलबाजी विभिन्न राजनीतिक वृत्तमा चल्न थालेको छ । त्यसो त डा. खतिवडा एमसीसी सहयोगलाई संसदले अनुमोदन गर्नुपर्छ भन्ने लाइनमा पहिलेदेखि नै प्रष्ट छन् । साथै, उनी पश्चिमा दाताहरुले पत्याएका व्यक्ति मानिन्छन् । आगामी दिनमा एमसीसी संसदले अनुमोदन गर्छ या गर्दैमा त्यो भने हेर्न बाँकी नै छ ।

    प्रतिकृया दिनुहोस्