News Portal

  • नविल बैंकले बंगलादेश बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    १०५८ पटक
    २९ पुष, २०७८

    काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । नविलले बंगलादेशलाई प्रति कित्ता १०० रुपैयाँ बराबर ४३ रुपैयाँमा प्राप्ती गर्ने भएको हो । दुबै बैंकको सञ्चालक समिति बीचमा सहमति जुटेसँगै स्वाप रेसियो तय भएको हो । आज दुबै बैंकका प्रतिनिधिहरुले मर्जरको सहमतिपत्रमा संझौता गरेका छन् ।
    एक्विजिसनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापाको, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर तथा एक्विजिसन कमिटी बनेको थियो ।
    नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि भएको समझदारी पत्रअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
    हाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ । स्वाप रेसियो १०० बराबर ४३ रुपैयाँ हुँदा नविल बैंकमा बंगलादेशको तर्फबाट ४ अर्ब ३३ करोड रुपैयाँ मात्रै जोडिनेछ । नविल बैंकको हालको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । दुबै बैंकको पुँजी अहिले घोषणा गरिएको तथा पारित भएको बोनश शेयर वितरण पश्चातको हो । मर्जरपछि नविल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।
    आईएफआईसीले नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री गर्ने आन्तरिक सहमति पनि गरिसकेको छ । यही विषयलाई लिएर दुगड समूहले अदालतमा मुद्दा हाले पछि हतार हतारमा दुई बैंकले मर्जरको संझौता गरेका हुन् । प्रमुख शेयरधनी आईएफआईसीलाई मर्जरका लागि नेपाल बंगलादेश बैंकका अन्य शेयरधनीहरुले हस्तक्षेप गर्न सक्दैनन् । आईएफआईसीकै ४०.९० प्रतिशत शेयर रहेको छ ।
    यदि लफडा भइराख्यो भने मर्जरपछि आईएफआईसीले सजिलै आफ्नो शेयर नविल बैंकका संस्थापकलाई बिक्री गरेर बाहिरिन सक्ने छ । यसो गर्दा नविलका संस्थापकलाई पनि सजिलो हुनेछ । मर्जरपछि आईएफआईसी चुक्ता पुँजी एक अर्ब ७७ करोड रुपैयाँमा सिमित हुनेछ । अर्काेतर्फ मर्जर पछि आईएफआईसीको हिस्सा ७.७६ प्रतिशतमा खुम्चिनेछ । विनोद चौधरीले आईएफआईसीको शेयर खरिद गर्ने वित्तीकै उनको हिस्सा ४८.६८ प्रतिशतबाट ४५.५८ प्रतिशतमा खुम्चिनेछ ।
    हाल नविल बैंकमा एनबी इण्टरनेशनलको ४८.६८ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस बाहेक अन्य शेयरधनीहरुको हिस्सा नगन्य छ । एनबी इण्टरनेशनल पनि विनोद चौधरीकै हो । उनले आयरल्याण्डमा एनबि इन्टरनेशनल कम्पनी खोलेर उक्त कम्पनीमार्फत नविल बैंकमा लगानी गरेका हुन् । अव यस कम्पनी सहित विनोद चौधरीको बजार हिस्सा ४५.५८ प्रतिशतमा खुम्चिने भएको हो । अर्काेतर्फ नविल बैंकमा दुगड समुहको पनि लगानी हुनेछ ।

    प्रतिकृया दिनुहोस्