News Portal

  • नेपाल लाइफका सिइओ प्रसाईले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७८
    १६४५ पटक
    २१ कार्तिक, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ९ महिनामै बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाले दुई कार्यकाल पुरा गरेर बाहिरिएसँगै साउन १ गतेदेखि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रसाईलाई ८ महिनापछि मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । यस अवधिमा सञ्चालक समितिले उनको कार्यक्षमता मूल्याङ्कन गरेर नै जिम्मेवारी दिएको थियो ।
    चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरे । जब उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए त्यसपछि सञ्चालक समितिले उनलाई थाहै नदिइ अभिकर्ताको टार्गेट बढाइदिए । त्यसपछि अभिकर्ताहरु आन्दोलनमै उत्रिए । परिणामस्वरुप कम्पनीले उक्त टार्गेट फिर्ता लिन बाध्य भयो । यसले गर्दा असार अन्तसम्म अभिकर्ताले व्यवसाय ल्याएनन् । यस अवधिमा कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार गर्न सकेन ।
    यसको दोष सञ्चालक समितिले प्रसाईको टाउकोमा थोपर्याे र भन्यो ‘तपाईंले व्यवसाय भित्र्याउन सक्नु भएन । तपाईको पर्फरमेन्स देखिएन ।’ सिइओ प्रसाईको नियुक्तिलगत्तै गत माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाबाट महालक्ष्मी विकास बैंकको निर्वतमान प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सर्वसाधारण समुहको तर्फबाट सञ्चालक समितिमा नियुक्त भए । उनलाई संस्थापक शेयरधनीहरुले नै भित्र्याएका थिए ।
    अध्यक्ष गोविन्दलाल संघाईले लामिछानेलाई प्रयोग गर्दा उच्च व्यवस्थापन माथि लगातार हस्तक्षेप गर्दै आएका थिए । लामिछानेको हस्तक्षेप यतिसम्म भयो कि उनले महालक्ष्मी विकास बैंकका कर्मचारीलाई भित्र्याए । यस अवधिमा कम्पनीमा दशौ वर्षदेखि काम गरेका कर्मचारीहरु बाहिरिनु पर्यो । यस क्रममा प्रसाईको सेट तहसनहस भयो ।
    अर्कोतर्फ प्रसाईंले पटकपटक कम्पनीको पर्फमेन्सलाई लिएर प्रश्न गर्न थालेपछि उनले राजीनामा दिएका हुन् । यदि स्वतस्फुर्त काम गर्न दिने हो भने आफु कम्पनीलाई पूर्ववतः अवस्थामै फर्काउने प्रतिवद्धता दिएका प्रसाईको कुरै नसुनी अनावश्यक रुपमा अन्य कुराहरुमा पनि हस्तक्षेप गर्न थालेपछि यो विवाद बीमा समितिसमक्ष पुगेको थियो । बीमा समितिले कम्पनीलाई पटकपटक स्पष्टीकरण पनि सोधेको थियो । तर बीमा समितिको पनि केही लागेन । अन्ततः प्रसाई राजीनामा दिन बाध्य भए । स्मरण रहोस्, अहिलेसम्म नेपाल लाइफले छ जना प्रमुख कार्यकारी अधिकृत पायो तर पुरा कार्यकाल काम गर्न पाएका विवेक झा मात्र हुन् । उनले दुई कार्यकाल नेपाल लाइफमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बिताए ।

    प्रतिकृया दिनुहोस्